नगरकोटको जालपादेवी मन्दिर र यहाँको अन्य तिर्थस्थल एवम् इतिहास

नगरकोटको तेलकोटमा अवस्थित जालपादेवी मन्दिर एक महत्वपूर्ण धार्मिक तिर्थ स्थल हो । यस मन्दिरमा दर्शन गर्नाले शक्ति मिल्ने तथा मनोकामना पूर्ण हुने जनविश्वास रहि आएको छ । उक्त मन्दिरमा हरेक वर्षको दशैं, चैत्र अष्टमी तथा अन्य शनिबार मंगबार, बिहीबार एवम् अन्य तिथिमा पनि विशेष मेला लाग्ने गर्दछ ।
गीता मन्दिर
यो मन्दिर नगरकोट गाविसको फेदि–१, नयाँबस्ती, गीतानगरमा अवस्थित छ । यो ठाउँ नगरकोट, छालिङ र वागेश्वरी गाविसको बिचमा पर्दछ । यहाँ गीतामाता, सप्तऋषि, नागराज, बुढानिलकण्ठ, गणेश, कुमार तथा शिवको मन्दिर रहेको छ । यहाँ विषेशगरी हरितालिका तिज, दशै, तिहार जस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ । यो मन्दिर भक्तपुर शहरबाट ५ किलोमिटरको दुरीमा अबस्थित छ ।
महादेव कुण्ड
यहाँ प्रत्येक वर्ष रक्षा बन्धनको दिनमा ठूलो मेला लाग्ने गर्दछ। यहाँ काठमाडौ, भक्तपुर, साँखु र बनेपा देखिका भक्तजनहरूको भिड लाग्ने गर्दछ । यो नगरकोट गाविस र काभ्रेको टुकुचा गाविसको दोसाधमा रहेको छ ।
महाँकाल मन्दिर
यस मन्दिर तान्त्रिक साधकहरूको लागि महत्वपूर्ण रहेको मानिन्छ । काठमाडौको महाँकाल मन्दिर यीनै देवलाई स्थानान्तरण गरि निर्माण गरिएको जनविश्वास रहेको छ । यो मन्दिर भक्तपुर जिल्लाको नगरकोट र काभ्रेको बालुवापाटी देउपुरको दोसाधमा रहेको छ भने काठमाडौ जिल्लाको सुनटोलको सिमा यहाँबाट ५ मिनेटको दुरीमा रहेको छ ।
कालीदेवी मन्दिर

यो मन्दिरलाई ग्रामदेवीको रूपमा मानिदै आएको छ र प्रत्येक वर्ष पौष पूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ । यसै मन्दिरमा नगरकोट हत्याकाण्ड घटेको थियो ।
नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ । यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् ।
नगरकोटको इतिहास
प्राचीन समयमा यहाँ एक जना मानिस आफ्नो कुनै कार्य गर्न लाग्दा आफूले लगाइ राखेको कोट फुकाली राखी हेरिरहेका अन्य मानिसलाई “नचलाकोट“ भनी कार्य सुरू गरेका थिए । त्यही मानिसले नचलाकोट भनेका आधारबाट नगरकोट नाम रहन गएको भन्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
कालान्तरमा गएर नचलाकोटबाट अपभ्रंश भएर नगरकोट भएको होला भन्ने जनश्रुति छ । त्यस्तै नेपालको पश्चिम भागमा तामाङ मगर बस्ती रहेको डाँडाको अति चुच्चो भागलाई कोट भन्ने चलन छ । यस भेकमा पनि तामाङ समुदाय रहको र नगर क्षेत्रबाट यो गाउँ अग्ला भएको हुँदा यसलाई नगरकोट भन्ने गरेको पाइन्छ । साथै नगरकोट दुई भिन्न शब्दहरू मिलर नगरकोट शब्द बनेको हो ।
त्यस शब्दलाई टुक¥याएर हेर्दा पनि नगरको अर्थ सहर र कोटको अथ अग्लो भाग भन्ने बुझिन्छ ।अर्को जन श्रुती अनुसार १८०१ मा नगरकोट विजय पश्चात् नगरकोटको नियन्त्रण पृथ्वीनारायण शाहले भक्तपुरका राजा (उनका मितबा) लाई सुम्पिएका पछि नगरकोटलाई कोतको रूपमा विकास गरिएको र नगरको कोतका रूपमा रहेकोले नगरकोट नाम रहेको भन्ने कथन पनि रहेको छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र
नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो । नगरकोटबाट देखिने उत्तरका चाँदिका शिखरले बिहान र बेलुकी सुनौलो रङ्ग फेर्दाको मनोहरितामा कुनै कविको कविता फुर्दछ भने कुने संगितकारको मानसपटलमा अमोद नाद। मन्दिरै मन्दिरको सहर भनिने हाम्रो देशको राजधानी काठमाडौँ घुम्न आउने पर्यटक मध्ये अधिकांश पर्यटकहरूले नगरकोटको भ्रमण गर्ने गर्दछन साथै काठमाडौँ निवासीहरूचाहिँ आफ्नो व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई थातीराख्दै केही समय प्रकृतिसँग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन। नगरकोट रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ । यहाँ साधारण देखि लिएर अति महँगा र सुविधा सम्पन होटल, रेष्टुराँ तथा लजहरू रहेका छन, जसले कुनै पनि देश, संस्कृति र स्तरका पर्यटकको आवश्यकताको पूर्ति गर्दछन् ।
प्राकृतिक
नगरकोट उच्च पहडी भेगमा पर्दछ नगरकोट चारै तिरबाट वन तथा जंगलले घेरिएर रहेको छ । लोप हुनलागेको ‘हरियो वन नेपालको धन’ भन्ने लोकोक्ती यहाँ सार्थक भएको देख्न पाइन्छ । यहाँ जडिबुटी खेतिको प्रचुर सम्भावना रहेको छ । साथै वरपर रहेको बालवन भनिने जंगलमा अनेकन बोटबिरुवा र जीवजन्तु बसोबास गर्दछन। यो वन जंगलले काठमाडौं उपत्यकाको लागि केही मात्रामा जलाधारको पनि काम गरेको छ । यस स्थललाई वैज्ञानिक खोजको लागि प्रयोग गर्न सकिने सम्भावना धेरै छ ।
नगरकोटको राजनीतिक इतिहास
बडामहाराज पृथ्वीनारायण शाहको सेनाले परशुराम थापाको नेतृत्वमा बि.सं. १८०१ असोजमा नाल्दुम महादेवपोखरी(हालको नगरकोट) माथि विजय प्राप्त गरि यसलाई भक्तपुरलाई हस्तान्तरण गरिएको कुरा इतिहासमा लेखिएको छ । नगरको कोतलाई यहाँ सारेको र लामो समयसम्म नगरको कोत रहेकाले यसको नाम नगरकोट रहेको हो भनि अड्कल काटिन्छ । यहाँ राणाकालिन दरबारहरू पनि रहेका छन । यो राणा शासकहरूको मनोरञ्जतथा समय बिताउने स्थान थियो । यहाँ रहेको पुतली दरवार , भँगेरी दरवार अहिले सम्म पनि प्रख्यात रहेको छ। तर सबै दरबारहरू २०१८ सालमा नेपाली सेनाको नगरकोट स्थानानतरण भए पछि दरबारहरू सेनाको अधिनमा र्पयो र अहिले जीर्ण रहेकाले भत्काई नयाँ बनाउने कार्य हुँदैछ ।
वैज्ञानिक
नगरकोट एक वैज्ञानिक केन्द्र पनि रहि आएको छ । यहाँ रहेको त्रिकोणमितिय केन्द्र, गुरुत्वमापन केन्द्र, खगोल वैधशाला, जल तथा मौसम तथ्यांक संकलन केन्द्रका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ज्योतिष अध्ययन केन्द्रले देशमा आवश्यक केही थोरै वैज्ञानिक आवश्यकता पूर्ति गर्दै आइरहेको छ ।
खगोलीय अध्ययन केन्द्र
बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले नगरकोटमा निर्माण गरेको यस केन्द्र २०६४ सालमा नगरकोटमा स्थापना भएको हो। आधुनिक दूरबिन प्रयोग गरी अध्ययन अनुसन्धान गर्ने सुविधा छ । वेधशालामा रहेको दूरबिन नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो। १६ इन्च व्यास रहेको दूरबिनले आकासीय वस्तुलाई पाँचदेखि आठ सय गुणासम्म ठूलो पार्न सक्छ । दूरबिनमा रहेको सफ्टवेयरले एक लाख ५० हजार वटा तारालाई चिन्न सक्छ। रोबोर्टिक अपरेटेड टेलिस्कोपबाट खगोल विज्ञानसम्बन्धी जुनसुकै अनुसन्धान गर्न सकिने व्यवस्था रहेको छ ।
खगोल विज्ञानको अध्ययन गर्न विदेशी अनुसन्धानकर्ताहरू नेपाल आउन थालेका छन्। विदेशी अनुसन्धानकर्ताहरू बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले नगरकोटमा निर्माण गरेको वेधशालामा अनुसन्धान गर्न आउने गरेका छन् ।
खगोल विज्ञानसम्बन्धी चर्चित अमेरिकी वैज्ञानिकहरूको संस्था (नासा), इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन तथा प फ्रान्सेली अनुसन्धानकर्ताहरू अनुसन्धानका निम्ति नगरकोटको वेधशालामा आएका थिए। खगोल अध्ययनका लागि उचाइ भएको ठाउँ उपयुक्त हुने भएकाले विदेशीहरू पनि नेपाल आउने गरेका छन्। रातिको समयमा उपत्यकाको आकास प्रायः खुला रहने र उचाइका कारण खगोल विज्ञानको अध्ययन गर्न उपत्यकालाई उत्कृष्ट स्थल मानिन्छ। चार वर्षअघि नगरकोटमा निर्माण गरिएको वेधशाला दुई हजार एक सय १५ मिटर उचाइमा रहेको छ ।