कुन्डलीमा हुने गणहरुबाट थाहा पाउनुहोस आफ्नो भविष्य

ज्योतिष शास्त्रमा गणको बारेमा चर्चा गरिएको छ । गण तीन प्रकारका हुन्छन् । १) देव गण, २) राक्षस गण र ३) मनुष्य गण । ज्योतिष शास्त्रमा यी गणहरुको प्रयोग कसरि गरिन्छ त ?

विशेष गरेर विवाह तथा सामुहिक कामकाज गर्दा फाप अफाप के हुन्छ भन्ने कुरा हेर्नको लागि यसको विचार गरिन्छ । विवाहको लागि केटा र केटीको कुण्डली जुराउँदा यसको अवश्य विचार गर्नुपर्छ । कुण्डली मिलाउँदा आउने ३६ गुण मध्ये ६ गुण गण बाट लिने गरिन्छ । कुण्डली मिलाउँदा देव गणको देव गण , राक्षस गणको राक्षस गण र मनुष्य गणको मनुष्य गणसँग विवाह गर्नुलाई शुभ मानिन्छ । यसरी केटा र केटी दुवैको एउटै गण भएमा गणबाट ६ गुण आउँछ । यसलाई शुभ र राम्रो मानिन्छ । एउटाको देव गण र अर्कोको राक्षस गण भएमा ६ गुणमा १ गुण मात्र आउँछ । यसलाई खासै राम्रो मानिँदैन ।
एउटाको देव गण र अर्कोको मनुष्य गण भएमा ५ गुण आउँछ । यसलाई राम्रो नै मानिन्छ । केटा वा केटी मध्ये एउटाको मनुष्य गण र अर्कोको राक्षस गण भएमा ६ गुणमा गुण आउँदैन । यसलाई ० गुण भनिन्छ ० गुण आउनु राम्रो चाहीँ होइन । तर जुराउँदा अरु पनि विभिन्न कुराहरु हेरेर मात्र गुण निकालिने हुनाले यसलाई मात्र आधार भने मान्न मिल्दैन ।

ज्योतिष शास्त्रका अनुसार जन्म नक्षत्र मघा, अश्लेषा, धनिष्ठा, ज्येष्ठा, मूल, शतभिषा, कृत्तिका , चित्रा र विशाखा नक्षत्र हुनेहरुको राक्षस गण हुन्छ । पूर्वषाढा, पूर्वभाद्र, पूर्वाफाल्गुनी, उत्तरषाढा, उत्तरभाद्र, उत्तर फाल्गुनी, रोहिणी भरणी र आद्र्रा नक्षमा जन्मिने मानिसहरुको मनुष्य गण हुन्छ । त्यसैगरि अनुराधा, पुनर्वसु, मृगशिरा, श्रवण, रेवती, स्वाती, हस्ता, पुष्य र अश्विनी यी नक्षत्रहरुमा जन्मिने मानिसको देव गण हुने गर्दछ । यही ३ गण बाहेक अरु गण हुँदैन । यही ३ गणले नै विवाह जुराउँदा गरिने ३६ गुणमध्ये ६ गुणको भागलाई ओगट्दछ । ज्योतिष शास्त्रमा गणहरुको बारेमा भनिएको छ कि ः–

स्वगणे परमा प्रीतिर्मध्यमा नरदेवयोः ।
नर राक्षसयोर्मृत्युः कलहो देवरक्षसो ः ।।
भनिन्छ एउटै गण भएको केटा र केटीको विवाह भएमा विवाह पछिको संबन्ध धेरै राम्रो हुन्छ । एउटाको मनुष्य गण र अर्कोको देव गण भएमा यस्तो विवाह हुन्छ भने मध्यम किसिमको संबन्ध विवाह पछि हुने गर्छ । एउटाको राक्षर गण र अर्कोको मनुष्य गण भएमा विवाह गर्नु अशुभ मानिन्छ । यस्तो विवाहमा मृत्यु पनि हुन सक्छ भन्ने मान्यता रहेको छ र देव गण र राक्षस गण भएको मानिसको एक आपसमा विवाह भयो भने सँधै झगडा परिरहने र कलह भइरहने गर्दछ ।

विवाह जुराउँदा जुर्छ कि जुर्दैन भनेर हेरिने ३६ गुण मध्ये ६ गुणलाई यसरी नै जुराउने गरिन्छ । एउटै गण भएको मानिससँग विवाह गर्नुलाई त शुभ नै मानिन्छ । गुणहरु मध्ये सबैभन्दा नराम्रो मानिने सँबन्ध मनुष्य गण र राक्षस गणको हो । यसमा पनि मनुष्य गण र राक्षस गण भएता पनि यदी यी दुवैको राशिको स्वामी ग्रहहरु बिच मित्रता छ अथवा, अँशका मालिक नक्षत्रको स्वामी बिच मित्रता छ भने यस्तो किसिमको संबन्ध अशुभ नभइ शुभ फल दिने नै हुन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

सामान्य रुपमा देव, मनुष्य र राक्षस गण भएका मानिसहरुको स्वभाव नाम अनुसारको नै हुन्छ भन्ने मान्यता भने गलत हो । यो केवल विशेष परिस्थितिमा हेरिने गरिन्छ । मानिसको स्वभाव कस्तो छ भन्ने कुरा भने कुण्डली हेरेर मात्र थाहा पाउन सकिन्छ ।-city dainik bata