१२ वर्षकी बालिकाको बलात्कारपछि हत्या – नर पिचासले पायो सजाय ।।

१२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास फेरेकी छन् । तर, १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव उठाएर अन्तिम संस्कार गर्ने पैसा छैन । अस्पतालमा तिर्नुपर्ने रकम जुटाउन सके छोरीको अन्त्येष्टि गर्ने उनको योजना छ ।

स्वयम्भूमा डेरा गरी बस्ने सन्तोषीकी छोरी अमृताको ०७३ जेठ ५ गते बलात्कारपछि हत्या भएको थियो ।

काठमाडौं जिल्ला अदालतले सोमबार मोरङ, बाहुनीका विश्वराम रनपहेँलीलाई बलात्कार र हत्या दुबैमा दोषी ठहर गरेको हो । न्यायाधीश राजेन्द्र नेपालको इजलासले जबरजस्ती करणी र हत्यामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको हो । त्यस्तै पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।